
काठमाडौं, वैशाख २१
विभागीय टोली नेपाल आर्मीले राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषतर्फ आइतबार सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह ‘ए’ अन्तर्गत लिग चरणका सबै खेलमा अपराजित रहँदै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो।
च्यासल मैदानमा आयोजित खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० ले पराजित गर्यो। आर्मीका लागि कासीराज राई, दीपेन्द्र ऐर र राजेन्द्र कार्कीले समान एक–एक गोल गरे। राजेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए। यसअघि आर्मीले गण्डकी प्रदेश र मधेश प्रदेशलाई पराजित गर्दै शीर्ष स्थानमा समूह चरण सकाएको थियो।
आइतबार निर्धारण गरिएका तीन खेलमध्ये वर्षाका कारण दुई खेल स्थगित भए। पुरुषतर्फ नेपाल प्रहरी र बागमती प्रदेश तथा महिलातर्फ नेपाल आर्मी र गण्डकी प्रदेशबीचको खेल प्रभावित भयो।
स्थगित खेलसहित सोमबार पाँच खेल हुनेछन्। पुरुषतर्फ गण्डकी बनाम मधेश र कर्णाली प्रदेश बनाम एपीएफ क्लबबीच भिडन्त हुनेछ भने महिलातर्फ मधेश प्रदेशले बागमतीसँग प्रतिस्पर्धा गर्नेछ।






