
काठमाडौं, वैशाख २१
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन हुने तेस्रो संस्करणको ‘प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२’ सुरु भएको छ।
जङ्गी अड्डामा शुक्रबार आयोजित उद्घाटन समारोहमा बलाधिकृत रथी निर्मल कुमार थापाले प्रतियोगिताको समुद्घाटन गरेका थिए। टेनिस खेलको विकास र उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिने प्रतियोगितामा विभिन्न ९ क्लबका १५ महिला सहित १९६ जना खेलाडी सहभागी छन्।
प्रतियोगिता वैशाख २८ गतेसम्म जङ्गी अड्डा र दशरथ रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुनेछ। यस प्रतियोगितामा खुला र भेट्रान्सतर्फ १२ विधामा प्रतिस्पर्धा हुनेछ।

उद्घाटन समारोहमा नेपाली सेनाका रथीवृन्द, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, नेपाल टेनिस संघका पदाधिकारी, विभिन्न क्लबका प्रतिनिधि, सञ्चारकर्मी र खेलाडीहरूको उपस्थिति रहेको थियो।






