
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा कीर्तिपुर बास्केटबल क्लब र हाउण्ड्स एकेडेमीले विजयी सुरुवात गरेका छन्।
शनिबार कीर्तिपुर कभर्डहलमा घरेलु टोली कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ८४–५९ को फराकिलो अन्तरले पराजित गर्यो। पहिलो क्वाटर १०–१२ ले गुमाए पनि कीर्तिपुरले दोस्रो क्वाटरमा २४–१२ को उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लियो। तेस्रो क्वाटर सामाखुशीले २९–२५ ले आफ्नो पक्षमा पार्न सफल भए पनि चौथो तथा निर्णायक क्वाटरमा कीर्तिपुरले २५–६ को एकपक्षीय खेल देखाउँदै सहज जित हात पार्यो।

कीर्तिपुरका सयुन राई ‘मोस्ट भ्यालुएबल प्लेयर (MVP)’ घोषित भए।
त्यसैदिनको दोस्रो खेलमा हाउण्ड्स एकेडेमीले रोएल्सलाई ८७–७८ ले पराजित गर्दै लिगमा विजयी यात्रा आरम्भ गर्यो।
हाउण्ड्सले पहिलो क्वाटर २१–१४ ले जित्दै अग्रता बनाएको थियो। दोस्रो क्वाटरमा रोएल्सले २६–२२ ले पुनरागमन गर्दै खेलमा प्रतिस्पर्धा कायम राखे पनि तेस्रो (२४–१९) र चौथो क्वाटर (२०–१९) दुवै हाउण्ड्सको पक्षमा गएपछि टोलीले जित सुनिश्चित गर्यो।
हाउण्ड्सका विजय बुर्जा खेलको MVP घोषित भए।
लिगअन्तर्गत आइतबार टाइम्स इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजबीच एक मात्र खेल हुनेछ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा सुरु भएको लिगमा ६ टोलीको सहभागिता रहेको छ।
डबल राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुने लिगका खेलहरू हरेक शनिबार, आइतबार, मंगलबार र बुधबार खेलाइने छ।
नेबा अध्यक्ष भिम सिंह गुरुङले नेपालमा पहिलोपटक विकेण्ड कन्सेप्टमा बास्केटबल लिग आयोजना गरिएको जानकारी दिँदै यसलाई पायलट प्रोजेक्टको रूपमा प्रयोग गरिएको बताए। उद्घाटन समारोहमा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल र लिनिङ नेपालका प्रमुख राजिन महर्जन उपस्थित थिए।





