
काठमाडौं, २० वैशाख
आरभसम्राट हाडा र स्वस्तिका विष्टले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगितामा पहिलोपटक सिंगल्स च्याम्पियन बन्ने सफलता हासिल गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा सम्पन्न फाइनल खेलमा उनीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचालेका हुन्।
पुरुष सिंगल्सतर्फ आरभले निसान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते। यो आरभका लागि तेस्रो सिनियर सिंगल्स खिताब हो। यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ्रे टेनिस प्रतियोगिता जितिसकेका थिए। यस संस्करणमा निहालजंगबहादुर थापा र राजवीर प्रधान तेस्रो भए। पूर्वच्याम्पियन प्रदीप खड्का भने क्वाटरफाइनलमै राजवीरसँग पराजित भए।
महिला सिंगल्सतर्फ स्वस्तिका विष्टले नवौं र दसौं संस्करणकी विजेता अभिलाषा विष्टलाई ६–१, ६–३ ले हराउँदै आफ्नो पहिलो सिनियर उपाधि जितिन्। आइशा डोल्कर गुरुङ र जेनी खड्काले तेस्रो स्थान प्राप्त गरे।
प्रतियोगितामा पुरुष र महिलातर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
कुल ११ विधामा प्रतिस्पर्धा भएको प्रतियोगिताको अन्य विजेताहरू यसप्रकार छन्:
- मिक्स डबल्स: आरभ हाडा र अभिलाषा विष्ट
- ३५ वर्षमाथि पुरुष सिंगल्स: जितेन्द्र परियार
- ३५ वर्षमाथि पुरुष डबल्स: जितेन्द्र परियार र इलम दीक्षित
- ४५ वर्षमाथि पुरुष सिंगल्स: कमलबहादुर भण्डारी
- ४५ वर्षमाथि पुरुष डबल्स: कमल भण्डारी र सुमित मैनाली
- ५५ वर्षमाथि पुरुष सिंगल्स: चन्द्र शाही
- ५५ वर्षमाथि पुरुष डबल्स: चन्द्र शाही र डेगेन्द्र श्रेष्ठ
- ६५ वर्षमाथि पुरुष सिंगल्स: ध्रुवबहादुर गुरुङ
- ६५ वर्षमाथि पुरुष डबल्स: धीर गुरुङ र मनोज राणा
काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा १ सय ६३ खेलाडी सहभागी थिए। प्रतियोगिता बैशाख १४ गतेदेखि सुरु भएको हो। कुल पुरस्कार राशी ५ लाख ८२ हजार ५ सय रुपैयाँ तोकिएको थियो। विजेताहरूलाई राखेपका कार्यकारी सदस्य कमलबहादुर भट्टराई, भानबहादुर चन्द, नेपाल टेनिस संघका संयोजक मनोहरदास मुललगायतले पुरस्कार प्रदान गरे।





