
काठमाडौं, २० वैशाख
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम–२०८२लाई उद्देश्यविहीन र खोक्रो भनेका छन्।
रिपोर्टर्स क्लब नेपालमा बोल्दै शाहीले यो दस्तावेज पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको “पानी जहाज”जस्तै अस्पष्ट भएको टिप्पणी गरे। उनले भने, “नीति तथा कार्यक्रम टोले समूहहरूले आफ्नो क्षेत्र निर्धारण गर्न बनाएको खोस्टोजस्तो भएको छ, जसमा न त गहिरो सोच छ, न दीर्घकालीन दृष्टि।”
शाहीले सरकारको कार्यक्रमले आर्थिक नीति स्पष्ट नगरेको र केवल राजनीतिक भाषामा लेखिएको आरोप लगाए। “रोजगारी दिने भनिए पनि आधार र योजना छैन”, उनले बताए। विराटनगरको जुटमिल र चिनी मिलजस्ता उद्योग बन्द भइसकेपछि कसरी रोजगारी दिने भन्ने सरकार आफैं अन्योलमा रहेको उनको भनाइ थियो।
उनले थपे, “अहिलेको नीति तथा कार्यक्रमले जनप्रतिनिधि कमजोर भएको संकेत गर्छ। यो व्यवस्थाकै कमजोरी उजागर गर्ने खालको दस्तावेज बनेको छ।”





