
उता, नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले भने नीति तथा कार्यक्रम सकारात्मक भएको र यसले समग्र अर्थतन्त्र सुधारतर्फ मार्गनिर्देशन गरेको बताए। उनले संविधान, सरकार गठनपछिको कांग्रेस–एमाले सहमति र १५औं योजनाको आधारमा नीति तथा कार्यक्रम आएको भन्दै यसलाई स्वागतयोग्य भने।
पोखरेलले भने, “यो नीति तथा कार्यक्रम वस्तुगत छ, समाजवादको आधार तय गर्छ। कृषि, शिक्षा र सहकारी क्षेत्रलाई प्राथमिकता दिइएको छ। विशेषगरी साना बचतकर्ताको हितमा सहकारी सुधार तथा प्राधिकरण गठन सकारात्मक कदम हो।”
उनले कृषि अनुदान, उद्यमशीलता प्रवर्द्धन, गरिबी न्यूनीकरण र रोजगारी सिर्जना जस्ता विषय स्पष्ट रुपमा समेटिएको बताए। “समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने दिशामा नीति तथा कार्यक्रम आएको छ”, पोखरेलले दाबी गरे। उनले विरोधको लागि मात्र विरोध नगर्न विपक्षी दलहरूलाई सुझाव पनि दिए।
“नीति तथा कार्यक्रम बासी भयो भन्नेहरू स्वयं बासी सोच राख्नेहरू हुन्”, पोखरेलले प्रहार गरे।