नीति तथा कार्यक्रम निरस र निराशाजनक छ: नेता देवेन्द्र पौडेल



काठमाडौं, २० वैशाख

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई निरस, अस्पष्ट र दिशाविहीन भनेका छन्। रिपोर्टर्स क्लब नेपालमा शनिबार आयोजित विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रमले देशलाई आर्थिक निकास दिन नसक्ने दाबी गरे।

उनले नीति तथा कार्यक्रमलाई “गाईको त्रिशूली” भन्दै व्यंग्य गरे। “यस पटक राष्ट्रिय गौरवका आयोजना, रणनीतिक योजना वा राज्यका प्राथमिक क्षेत्रबारे स्पष्ट रूपले केही पनि उल्लेख गरिएको छैन”, पौडेलले भने, “नीति तथा कार्यक्रमले समृद्ध नेपाल र सुखी नेपालीको स्पष्ट मार्गचित्र दिन सकेन।”

उनको भनाइमा, यो दस्तावेज केवल विगतका कार्यक्रमको पुनरावृत्ति मात्र हो, नयाँ दृष्टिकोण छैन। उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा केही सकारात्मक कुरा भए पनि समग्रमा नीति तथा कार्यक्रम जनअपेक्षा विपरीत रहेको बताए। “भ्रष्टाचार नियन्त्रण र सम्पत्ति शुद्धिकरणबारे कुनै ठोस कार्यक्रम समावेश गरिएको छैन”, उनले गुनासो गरे।

प्रतिक्रिया दिनुहोस्