लायन्स कप भलिबलः एपीएफ सेमिफाइनलमा, गण्डकी बाहिरियो



पोखरा, वैशाख २०

पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

खेलको पहिलो सेट १९–२५ ले गुमाए पनि दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै एपीएफले पुनरागमनको सुरुवात गर्‍यो। तेस्रो सेट २३–२५ ले गुमाएपछि पछि परेको एपीएफले चौथो सेटमा लगातार १२ अंक जोड्दै २५–१४ ले जित निकालेको थियो। निर्णायक पाँचौं सेटमा सुरुदेखि नै अग्रता बनाउँदै एपीएफले १५–११ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो।

यो जितसँगै समूह ‘ए’ बाट इरानी टोली विजेता र एपीएफ उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेका छन्। गण्डकी प्रदेश भने दुईवटै खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ, जसले घरेलु समर्थकलाई निराश बनाएको छ। एपीएफले पहिलो खेलमा इरानी टोलीसँग हार व्यहोरेको थियो भने गण्डकीले पनि आफ्नो पहिलो खेलमा इरानसँगै पराजय भोगेको थियो।

प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत आजको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। उक्त खेलको नतिजाबाट समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीहरूको टुंगो लाग्नेछ। हालसम्म पुलिस र भारतीय टोलीले एक–एक जित दर्ता गरिसकेका छन् भने आर्मी टोली जितविहीन छ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालद्वारा आयोजित प्रतियोगितामा कुल ६ टोली सहभागी छन् – ईरानी र भारतीय टोलीसँगै गण्डकी प्रदेश, नेपाल आर्मी, नेपाल पुलिस र नेपाल एपीएफ क्लब।

प्रतिक्रिया दिनुहोस्