
काठमाडौं, वैशाख २० – आरभसम्राट हाडा र स्वस्तिका विष्टले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगितामा पहिलोपटक एकल उपाधि जित्दै नयाँ च्याम्पियनको उपाधि हात पारेका छन्। आरभले पुरुषतर्फ र स्वस्तिकाले महिलातर्फ शीर्ष स्थानमा कब्जा जमाए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप), त्रिपुरेश्वरको कोर्टमा भएको पुरुष एकल फाइनलमा आरभले निसान श्रेष्ठलाई सोझो सेटमा ६–३ र ६–२ ले पराजित गर्दै उपाधि जिते। यो आरभको तेस्रो सिनियर सिंगल्स उपाधि हो। यसअघि उनले गणेशमान सिंह र माछापुच्छ्रे टेनिस प्रतियोगितामा पनि उपाधि जितेका थिए। निहालजंगबहादुर थापा र राजवीर प्रधान तेस्रो स्थानमा रहे भने अघिल्ला संस्करणका च्याम्पियन प्रदीप खड्का क्वाटरफाइनलमै राजवीरसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए।
महिला एकलमा स्वस्तिका विष्टले नवौं र दशौं संस्करण विजेता अभिलाषा विष्टलाई ६–१, ६–३ को सोझो सेटमा हराउँदै च्याम्पियन बनिन्। चार वर्षे टेनिस करियरमा उनले पहिलोपटक सिनियर सिंगल्स उपाधि जितेकी हुन्। तेस्रो स्थानमा आइशा डोल्कर गुरुङ र जेनी खड्का रहे।
पुरुष र महिला दुवै एकलमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
११ स्पर्धामा सम्पन्न प्रतियोगितामा अन्य विजेता यसप्रकार छन्:
- मिक्स डबल्स: आरभसम्राट हाडा र अभिलाषा विष्ट
- ३५ वर्षमाथि पुरुष सिंगल्स: जितेन्द्र परियार
- ३५ वर्षमाथि पुरुष डबल्स: जितेन्द्र परियार र इलम दीक्षित
- ४५ वर्षमाथि पुरुष सिंगल्स: कमलबहादुर भण्डारी
- ४५ वर्षमाथि पुरुष डबल्स: कमल भण्डारी र सुमित मैनाली
- ५५ वर्षमाथि पुरुष सिंगल्स: चन्द्र शाही
- ५५ वर्षमाथि पुरुष डबल्स: चन्द्र शाही र डेगेन्द्र श्रेष्ठ
- ६५ वर्षमाथि पुरुष सिंगल्स: ध्रुवबहादुर गुरुङ
- ६५ वर्षमाथि पुरुष डबल्स: धीर गुरुङ र मनोज राणा
प्रतियोगिता सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भएको हो। विजेताहरूलाई राखेपका कार्यकारी सदस्य कमलबहादुर भट्टराई र भानबहादुर चन्द, नेपाल टेनिस संघका संयोजक मनोहरदास मुल, तथा सिटिजन्स बैंकका सञ्चालक प्रकाश मैनाली, विजयध्वज कार्की र दिगविजय विष्टलगायतले पुरस्कार प्रदान गरे।
बैशाख १४ गतेदेखि सुरु भएको प्रतियोगितामा १६३ खेलाडी सहभागी थिए। प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ८२ हजार ५ सय रुपैयाँ रहेको थियो।





