
काठमाडौं, वैशाख १९
अमेरिकामा सम्पन्न हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत पदक जितेका सन्तोष राईलाई न्यूयोर्कमा आयोजित एक विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ।
उक्त सम्मान कार्यक्रम च्याम्पियन मार्सल आर्ट्स क्लब युएसए अमेरिकाले युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकासँगको सहकार्यमा आयोजना गरेको हो। सन्तोषले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम विश्वमाझ चिनाएको योगदानका लागि उनलाई चार हजार चार सय अमेरिकी डलरसहित सम्मानपत्र प्रदान गरिएको हो।
सम्मान रकममध्ये च्याम्पियन मार्सल आर्ट्स एकेडेमी र डियन्जङ पुनले समान एक हजार, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले एक हजार पाँच सय, र रुद्र राईले ९ सय अमेरिकी डलर प्रदान गरेका थिए।
कार्यक्रममा वक्ताहरूले सन्तोषको समर्पण, अनुशासन र कठोर परिश्रमको सराहना गर्दै विदेशी भूमिमा नेपाली खेलाडीले गरेको योगदान प्रेरणादायी रहेको बताए। च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएका अध्यक्ष तथा नेपालका पूर्व खेलाडी सुनिल लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। लामाले विशेषगरी डायस्पोरा समुदायमा खेलाडीहरूद्वारा प्राप्त उपलब्धि उल्लेखनीय रहेको बताए।

कार्यक्रम युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा) का केन्द्रिय महासचिव मुक्ति राई र निवर्तमान न्यूयोर्क च्याप्टर अध्यक्ष ममता राईको पहलमा आयोजना गरिएको हो।
सन्तोषले न्यूयोर्कको कोरोना क्षेत्रमा सम्पन्न च्याम्पियनसिपमा सिनियर एकल कातातर्फ रजत पदक जितेका थिए। फाइनलमा अमेरिकी प्रतिस्पर्धी कर्नाडोसँग पराजित भई उनी दोस्रो स्थानमा सन्तोष मान्न बाध्य भए। यो वर्षको सुरुवातमै प्राप्त रजत पदक उनको सन् २०२५ को पहिलो अन्तर्राष्ट्रिय उपलब्धि हो। गत वर्ष उनले इङ्ल्यान्ड कराते फेडेरेसन ओपन कराते सिरिजमा पनि रजत पदक जितेका थिए।
सन्तोषको निरन्तर प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली करातेको पहिचान झन सशक्त बनाइरहेको छ।





