
गण्डकी प्रदेशले राष्ट्रिय महिला हक्की प्रतियोगितामा लिग चरणका दुई जितसहित फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। बिहीबार गण्डकीले पहिलो खेलमा बागमती प्रदेशलाई २–१ ले हराएको थियो भने शुक्रबारको जितसँगै उसले उपाधि भिडन्तको ढोका खोलेको हो।
मधेस प्रदेश भने लगातार दोस्रो हारसँगै शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बनाएको छ। उसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ७–० को लज्जास्पद हार व्यहोरेको थियो।
पुरुषतर्फ, आर्मी र कर्णाली प्रदेशले दमदार जित निकालेका छन्। नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत आर्मीले मधेस प्रदेशमाथि १०–१ को फराकिलो जित दर्ता गर्यो। आर्मीका मनोज चौधरीले ह्याट्रिक पुरा गरे। प्लेयर अफ द म्याच घोषित राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई–दुई गोल गरे भने देवसिंह धामी, प्रदीप राजवंशी र काशिराज राईले एक–एक गोल थपे।
यो आर्मीको दोस्रो जित हो भने मधेस प्रदेशको लगातार दोस्रो हार हो। मधेसले पहिलो खेलमा कोसी प्रदेशसँग पनि पराजय भोगेको थियो। पुरुषतर्फ लिगकम नकआउट प्रारूपमा खेल भइरहेको छ। समूह ‘ए’ मा आर्मी, गण्डकी, मधेस र कोसी प्रदेश छन्।
समूह ‘बी’ को खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशलाई २–१ ले पराजित गर्यो। कर्णालीका प्रेम भण्डारी र जिवा रावतले एक–एक गोल गरे भने प्लेयर अफ द म्याच सुशान्त रावत घोषित भए। बागमतीका समीर घिमिरेले सान्त्वना गोल गरे।





