राष्ट्रिय महिला हक्कीमा गण्डकीको लगातार दोस्रो जीत



काठमाडौं, वैशाख १९

राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले महिलातर्फ आफ्नो दोस्रो जित हासिल गरेको छ।

शुक्रबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्‍यो। गण्डकीका लागि मयुरी राईले दुवै गोल गर्दै टीमलाई जित दिलाइन् र ‘प्लेअर अफ दी म्याच’ घोषित भइन्। मधेश प्रदेशका लागि गीताकुमारी म्रिङचिङले एक गोल फर्काए पनि टिम हारबाट जोगिन सकेन।

राउन्ड रोबिन लिग प्रारूपमा भइरहेको प्रतियोगितामा गण्डकीको यो दोस्रो सफलता हो। प्रतियोगितामा गण्डकीसहित त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेश गरी चार टोलीको सहभागिता छ। लिग चरणपछि शीर्ष दुई टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

गण्डकीको फाइनल पुग्ने सम्भावना यस जितसँगै थप बलियो बनेको छ।

प्रतिक्रिया दिनुहोस्