
काठमाडौं, वैशाख १९
काठमाडौंका सुमन घले र सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका छन्। सुमनले पुरुष र सम्पदाले महिलातर्फ उत्कृष्ट प्रदर्शन गर्दै सो सम्मान हात पारेका हुन्।
नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा गोल्फुटारमा सम्पन्न प्रतियोगितामा विभिन्न तौल समूहमा खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो।
पुरुषतर्फ ४६–५० केजीमा करण ढोली, ५०–५४ केजीमा सुमन घले, ५४–५८ केजीमा अर्पण लामा, ५८–६३ केजीमा सुझपकुमार यादव र ६३–६८ केजीमा आशिष भुजेलले स्वर्ण पदक जिते।
महिलातर्फ ४०–४३ केजीमा सम्पदा सिवाकोटी, ४३–४६ केजीमा सुप्रिमा बजगाईं, ४६–४९ केजीमा रोजिना लामा, ४९–५३ केजीमा प्रतिमा भुजेल र ५३–५८ केजीमा मनीषा तामाङ च्याम्पियन बने।
विजेताहरूलाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, वडा ८ का अध्यक्ष एवं खेल संयोजक सुमन तामाङ, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश अध्यक्ष केशव पुरीलगायतले पुरस्कार वितरण गरेका थिए।
तेक्वान्दो प्रशिक्षक रन्जितबहादुर डंगौरका अनुसार प्रतियोगितामा पुरुष र महिला गरी १० विधामा जम्मा २१० खेलाडीले सहभागिता जनाएका थिए।





