लायन्स कप भलिबलः भारतीय टोलीद्वारा आर्मी पराजित



पोखरा, वैशाख १९।


पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा हराएको हो।

पहिलो सेट २३–२५ ले गुमाएको भारतीय टोलीले बाँकी तीन सेटमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२१ र चौथो सेट २८–२६ को जित दर्ता गर्‍यो।

समूह ‘बी’ अन्तर्गत अबको खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच हुनेछ, जसको नतिजाले सेमिफाइनलमा पुग्ने टोली निर्धारण गर्नेछ।

यसअघि शुक्रबारै भएको पहिलो खेलमा इरानी टोलीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ। इरानी टोलीले प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपीएफ) माथि पनि समान सेटले जित हात पारेको थियो।

समूह ‘ए’ अन्तर्गत अन्तिम खेल शनिबार गण्डकी प्रदेश र एपीएफबीच दिउँसो साढे १२ बजेबाट हुनेछ। यस खेलको विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। त्यसपछि आर्मी र पुलिसबीचको खेल सुरु हुनेछ।

प्रतियोगिताका विजेताले नगद ४ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेतालाई २ लाख ४४ हजार ४४४ रुपैयाँ, तेस्रो हुने टोलीलाई १ लाख ४४ हजार ४४४ रुपैयाँ दिइनेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूले समान ८ हजार ४४४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्