
पोखरा, वैशाख १९।
पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा इरानी टोलीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

पहिलो सेट १४–२५ ले गुमाएको गण्डकीले दोस्रो सेटमा प्रभावशाली पुनरागमन गर्दै २५–१७ ले जितेको थियो। तर, त्यसपछिका सेटमा लय गुमाउँदा उनीहरूले तेस्रो सेट १८–२५ र चौथो सेट २५–२७ ले गुमाए।
यसअघि इरानी टोलीले शसस्त्र प्रहरी बल (एपीएफ) लाई पनि ३–१ को सेटमा हराएको थियो। समूह ‘ए’ अन्तर्गत अब गण्डकी र एपीएफबीच हुने अन्तिम खेल निर्णायक हुनेछ। सो खेलको विजेताले सेमिफाइनलको यात्रा तय गर्नेछ।
आज समूह ‘बी’ अन्तर्गत भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। यसअघि भारतीय टोली नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।

प्रतियोगिताका विजेताले नगद ४ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ रुपैयाँ पाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट खेलाडीहरूलाई ८ हजार ४४४ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।





