
आरभसम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि आफ्नो नाममा लेखाएका छन्। सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा उनीहरूले सक्षमविक्रम शाह र नाला मास्केको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे।
भेट्रानतर्फ ३५ वर्षमाथिको पुरुष सिंगल्समा जितेन्द्र परियार विजेता बने। उनले फाइनलमा सन्तोष खत्रीलाई २–६, ६–१ र १०–५ ले हराए। ३५ वर्षमाथिको पुरुष डबल्समा पनि जितेन्द्रले इमल दीक्षितसँगको जोडीमा खत्री–छेवाङ लामाको जोडीलाई ६–३ र ६–४ ले पन्छ्याउँदै अर्को उपाधि थपे।
५५ वर्षमाथिको पुरुष सिंगल्स उपाधि चन्द्र शाहीले विमलकुमार गुरुङलाई ६–४, ७–५ ले हराउँदै जिते भने, ४५ वर्षमाथिको सिंगल्समा कमलबहादुर भण्डारीले रोहित सुनुवारमाथि ६–१, ६–४ को सोझो जित दर्ता गरे।
६५ वर्षमाथिको पुरुष डबल्समा मनोज राणा र धीर गुरुङको जोडी विजयी बन्यो। फाइनलमा उनीहरूले विदुर विष्ट र भिक्टर राणलाई ७–६, ७–५ ले हराए। त्यस्तै ५५ वर्षमाथिको पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले विमलकुमार गुरुङ र हिमाल शाहको जोडीलाई ६–१, ६–३ ले पराजित गर्दै उपाधि जिते।
प्रतियोगिताको अन्तिम दिन शनिबार अब दुई स्पर्धाको फाइनल खेल बाँकी छ— पुरुष सिंगल्समा निसान श्रेष्ठ र आरभसम्राट हाडा तथा महिला सिंगल्समा अभिलाषा विष्ट र स्वस्तिका विष्टबीच प्रतिस्पर्धा हुनेछ।
तेक्वान्दोमा सुमन र सम्पदा उत्कृष्ट खेलाडी
तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा काठमाडौंका सुमन घले र सम्पदा सिवाकोटी क्रमशः पुरुष र महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन्।
गोल्फुटारमा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ ४६–५० केजीमा करण ढोली, ५०–५४ केजीमा सुमन घले, ५४–५८ केजीमा अर्पण लामा, ५८–६३ केजीमा सुझपकुमार यादव र ६३–६८ केजीमा आशिष भुजेलले स्वर्ण पदक जिते।
महिला तर्फ ४०–४३ केजीमा सम्पदा सिवाकोटी, ४३–४६ केजीमा सुप्रिमा बजगाईं, ४६–४९ केजीमा रोजिना लामा, ४९–५३ केजीमा प्रतिमा भुजेल र ५३–५८ केजीमा मनीषा तामाङ विजयी भए।
विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, वडा नं. ८ का अध्यक्ष सुमन तामाङ, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी, र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश अध्यक्ष केशव पुरीलगायतले पुरस्कार वितरण गरे।
तेक्वान्दो प्रशिक्षक रन्जितबहादुर डंगौरका अनुसार प्रतियोगितामा १० स्पर्धामा २१० खेलाडीले सहभागिता जनाएका थिए।





