
कञ्चनपुर, वैशाख १८
चालु आर्थिक वर्षको पहिलो छ महिनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। निकुञ्ज कार्यालयका अनुसार कुल २,३८८ पर्यटकले भ्रमण गर्दा तीमध्ये १,१६० महिला र १,२२८ पुरुष रहेका छन्।
आन्तरिक पर्यटकको संख्या २,१८१ रहेको छ भने सार्क मुलुकका ९० र अन्य विदेशी पर्यटक ११७ जनाले निकुञ्ज भ्रमण गरेका छन्। विदेशी पर्यटकमध्ये ४८ महिला र ६९ पुरुष छन्।
निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले चैत महिनामा सबैभन्दा धेरै ५२० पर्यटक आएको जानकारी दिए। अन्य महिनाको विवरण अनुसार, कात्तिकमा ३१६, मङ्सिरमा ३८९, पुसमा ४३२, माघमा २७१, र फागुनमा ४६० पर्यटकले भ्रमण गरेका थिए। वर्षातका कारण साउन, भदौ र असोजमा पर्यटकीय गतिविधि शून्य रहेको उल्लेख गरिएको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने कुल ४,५७४ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। तीमध्ये १,७७० महिला र २,८०४ पुरुष थिए। आन्तरिक पर्यटक ४,२९४, सार्क मुलुकका १३७ र अन्य विदेशी १४३ जना रहेका थिए।
वि.सं. २०३१ मा स्थापना गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ। यो निकुञ्ज बाघको बाक्लो घनत्व, दुर्लभ वन्यजन्तु र सबैभन्दा ठूलो बाह्रसिङ्गाको बथानका लागि प्रसिद्ध छ। यहाँ जङ्गली हात्ती, पाटे बाघ, एक सिङ्गे गैँडा, चितुवा, घोडगधा, कृष्णसार, चित्तल लगायत ५३ भन्दा बढी प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन्।
रानी ताललगायतका जलस्रोतमा मगर गोही तथा अन्य जलचर छन्। निकुञ्जमा ४४९ भन्दा बढी प्रजातिका चराचुरुङ्गी, १२ प्रजातिका घस्रने जनावर, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा र ३५ प्रजातिका पुतलीसमेत पाइन्छन्।





