भक्तपुर ट्राफिक परिसरमा नयाँ ‘सचेतना कक्ष’ भवन उद्घाटन, टेण्डको विस्थापन



भक्तपुर, वैशाख १८ — भक्तपुरस्थित महानगरीय ट्राफिक प्रहरी परिसरमा निर्माण गरिएको नयाँ सचेतना कक्ष भवनको उद्घाटन गरिएको छ। सूर्यविनायक नगरपालिकाको आठ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनको उद्घाटन नगरप्रमुख वासुदेव थापाले गर्नु भयो।

पहिले टेण्डमा सञ्चालन हुँदै आएको सचेतना कक्षा अब नयाँ भवनबाट सञ्चालन हुने भएको छ। असहज मौसम—जस्तो वर्षामा चुहिने पानी, गर्मीयामको गर्मी, र जाडोमा चिसो—का कारण समस्या भोग्दै आएका चालक र ट्राफिक प्रहरीले अब सहज र सुरक्षित कक्षाबाट सेवा लिन सक्नेछन्।

नगरप्रमुख थापाले ट्राफिक कार्यालयको मागपछि केवल दुई महिनामा बजेट व्यवस्थापन गरेर एक कोठे भवन निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो। “अब चालकहरूले घामपानीको सास्ती बिना सचेतना कक्षा लिन सक्नेछन्। प्रहरी र जनप्रतिनिधि जनताको सेवामा निरन्तर लागिरहनुपर्छ,” उहाँले भन्नुभयो।

साथै, उनले ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई भनसुनका आधारमा छुट दिने अभ्यासले दुर्घटनाको जोखिम बढाउने हुँदा त्यसप्रति सख्त चेतावनी दिनुभयो।

कार्यक्रममा वडा नं. ६ का अध्यक्ष ईश्वर खड्काले टेण्डको अवस्थाबाट नै नगरपालिकाले नयाँ भवनका लागि सहयोग गर्ने निर्णय लिएको बताए। वडा नं. ५ का अध्यक्ष रबिन्द्र सापकोटा तथा ट्राफिक निरीक्षक प्रदीप खत्रीले पनि तत्कालीन अवस्थालाई हेरेपछि निर्माण प्रक्रिया अघि बढाइएको स्पष्ट पारे।

निरीक्षक खत्रीका अनुसार नयाँ भवन निर्माणपछि ‘टेण्ड मुक्त’ ट्राफिक कार्यालय बनाइएको छ। चालू आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म १६,३१३ जनाले सचेतना कक्षा लिइसकेका छन्। अहिले दैनिक १०० देखि १५० जनासम्म चालक कक्षा लिने गरेका छन्।

ट्राफिक प्रहरीले मापसे, लेन अनुशासन उल्लङ्घन, तीव्र गतिमा सवारी चलाउने, रातो बत्ती पार गर्ने लगायतका नियम उल्लङ्घनमा परेका चालकहरूलाई एक घण्टाको सचेतना कक्षा दिँदै आएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले ट्राफिक प्रहरीले सडकमा देखाएको सक्रियताले दुर्घटना न्यूनीकरणमा सकारात्मक भूमिका खेलेको बताउँदै, कारबाहीसँगै चेतनामूलक जानकारी पनि आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्