
काठमाडौं, वैशाख १७
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को खेलतालिका सार्वजनिक गरिएको छ। प्रतियोगिता यही वैशाख २० गते (शनिवार) बाट सुरु हुने छ।
सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी युथ क्लब आमनेसामने हुनेछन्। सोही दिन हाउण्ड्स एकेडेमी र रोएल्स बीच पनि प्रतिस्पर्धा हुनेछ। त्यसपछिको दिन आइतबार टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट इन्टरनेसनल कलेज भिड्नेछन्।
हिमालयन जाभा को सहकार्यमा आयोजना हुने लिगमा ६ टिम सहभागी छन्। प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा संचालन हुनेछ, जसअन्तर्गत ३० वटा खेल हुनेछन्। लिग चरणपछि शीर्ष दुई टोलीबीच दुई खेलको फाइनल श्रृंखला हुनेछ।
सुरुमा खेलहरू शनिवार र आइतबारमात्र गर्ने योजना रहे पनि, वर्षाको सम्भावना र प्रतियोगिता लामो नहोस भनेर मंगलबार र बुधबार पनि खेल थपिएको नेबा अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिएका छन्।
लिगको स्वरूप:
- ६ साता चल्ने प्रतियोगिता
- प्रारम्भिक ५ साता लिग चरण
- हरेक सातामा ६ खेल, जहाँ एक टोलीले दुई खेल खेल्ने
- दुई खेल हुने दिनमा: पहिलो खेल दिउँसो ४ बजे, दोस्रो खेल बेलुका ७ बजे
- एक खेल मात्र हुने दिन: खेल साँझ ७ बजे सुरु हुनेछ
खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको आउटडोर कोर्ट मा आयोजना गरिनेछन्।
प्रतिस्पर्धी टिमहरू:
- टाइम्स बास्केटबल क्लब
- हाउण्ड्स एकेडेमी
- गोल्डेनगेट इन्टरनेसनल कलेज
- रोएल्स
- कीर्तिपुर बास्केटबल क्लब
- सामाखुशी युथ क्लब





