
काठमाडौं, वैशाख १८ – ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार सम्पन्न राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा कोसी र गण्डकी प्रदेशले पहिलो जित हात पारेका छन्।

नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ कोसीले मधेस प्रदेशलाई ५–३ गोलअन्तरले पराजित गर्यो। कोसीका लागि लक्ष्मण समारियाले ह्याट्रिक गरे भने आर्यन चौधरी र सुदीप चौधरीले एक–एक गोल थपे। मधेसतर्फ रूपेशकुमार राईले दुई तथा अजयकुमार साहले एक गोल फर्काए। लक्ष्मण समारिया ‘प्लेअर अफ दी म्याच’ घोषित भए र उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरे। खेलमा शुरुवाती अग्रता लिए पनि मधेसले अन्त्यसम्म त्यसलाई जोगाउन नसक्दा पराजय व्यहोरेको हो।
समूह ‘ए’ अन्तर्गत कोसीले पहिलो जितसँगै तीन अंक जोडेको छ। यस समूहमा त्रिभुवन आर्मीले पनि गण्डकीमाथि ३–० को जित निकालेको थियो। पुरुषतर्फ प्रतियोगिता लिगकम नकआउट प्रारुपमा भइरहेको छ, जहाँ समूह ‘ए’ मा आर्मी, गण्डकी, मधेस र कोसी प्रतिस्पर्धामा छन्। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली, एपिएफ र बागमती प्रदेश सहभागी छन्। नयाँ टोलीको रूपमा डेब्यु गरेको एपिएफले बागमतीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ।

महिलातर्फ गण्डकी प्रदेशले बागमतीमाथि २–१ को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। गण्डकीका लागि मायौरी राई र गीता पुन मगरले एक–एक गोल गरे। मायौरी राई ‘प्लेअर अफ दी म्याच’ घोषित भइन्। प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र बोर्ड सदस्य प्रकाश कुसारीले गरे। महिलातर्फ नेपाल आर्मी, गण्डकी, मधेस र बागमती प्रदेश सहभागी छन्। राउन्ड रोबिन लिग प्रणालीमा हुँदै गरेको प्रतियोगितामा शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ।





