प्रथम लायन्स कप भलिबलः नेपाल पुलिसले भारतीय टोलीलाई सोझो सेटमा पराजितपोखरा,



१८ वैशाख,

पोखरामा सुरु भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब विजयी बनेको छ। समूह ‘बी’ अन्तर्गतको खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा हराउँदै प्रतियोगितामा शानदार सुरुआत गरेको हो।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न खेलको पहिलो सेट प्रतिस्पर्धात्मक रह्यो, जसमा पुलिसले २५–२३ को कठिन जित निकालेको थियो। बाँकी दुई सेटमा भने नेपाल पुलिसले सहजै नियन्त्रण कायम राख्दै दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० को जित निकाल्यो।

यसअघि बिहान भएको समूह ‘ए’ अन्तर्गतको खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गरेको थियो।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भइरहेको प्रतियोगितामा कुल ६ टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा इरान, एपीएफ र गण्डकी प्रदेश रहेका छन् भने समूह ‘बी’ मा भारत, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन्।

प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। प्रतियोगिताको फाइनल वैशाख २२ गते हुनेछ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २ लाख ४४ हजार ४४४ तथा तेस्रो स्थान प्राप्त टोलीले १ लाख ४४ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागत रूपमा उत्कृष्ट ठहरिएका खेलाडीहरूलाई ८ हजार ४४४ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

भोलि हुने दोस्रो दिनको खेलमा इरानी टोली र गण्डकी प्रदेश बिहान ११ बजे तथा भारतीय टोली र त्रिभुवन आर्मी क्लब दिउँसो १ बजे प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्