११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिता : निसान र आरभ फाइनलमाकाठमाडौं, वैशाख १८।



११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ निसान श्रेष्ठ र आरभसम्राट हाडा फाइनलमा प्रवेश गरेका छन्। काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा तथा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा निसानले निहालजंग बहादुर थापामाथि ६–३ र ६–२ को सोझो सेटमा जित निकालेका हुन्। अर्का खेलाडी आरभले राजवीर प्रधानलाई ६–३ र ६–१ ले हराउँदै उपाधि भिडन्त तय गरे।

महिला सिंगल्सतर्फ अभिलाषा विष्ट र स्वस्तिका विष्ट उपाधिका लागि भिड्ने भएका छन्। अभिलाषाले जेनी खड्कालाई ६–१, ६–१ ले तथा स्वस्तिकाले आइशा डोल्कर गुरुङलाई उस्तै सेटमा पराजित गरिन्।

भेट्रान (३५ वर्षमाथि) पुरुष सिंगल्समा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६–०, ६–० ले तथा सन्तोष खत्रीले भीष्मजंग गुरुङलाई ६–३, ६–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन्।

३५ वर्षमाथि पुरुष डबल्समा पनि प्रतिस्पर्धा रोमाञ्चक बनेको छ। जितेन्द्र परियार र इलम दिक्षितको जोडीले भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीलाई ६–४, ६–२ ले हराउँदै फाइनल यात्रा तय गरे। अर्कोतर्फ सन्तोष खत्री र छेवाङ लामाको जोडीले सिमान्त र नवीन श्रेष्ठको जोडीलाई ६–०, ६–० को क्लिन स्वीप गर्दै फाइनलमा प्रवेश गरे।

५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङले उत्तम बोगटीलाई ६–३, ६–१ ले तथा चन्द्र शाहीले मनोजविक्रम शाहलाई ६–३, ७–५ ले हराउँदै उपाधि भिडन्तमा पुगे। ४५ वर्षमाथि पुरुष सिंगल्सतर्फ कमलबहादुर भण्डारी र रोहित सुनुवार क्रमशः महेश श्रेष्ठ र मानबहादुर कटुवाललाई सहज जित निकाल्दै फाइनलमा पुगे।

५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार गुरुङ र हिमाल शाहको जोडीले प्रेम थापा र रमेश रोक्काको जोडीलाई ६–१, ६–३ ले पराजित गरे। डगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले राम राणा र सागर विसीलाई ७–६, ६–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे।

६५ वर्षमाथि पुरुष डबल्सतर्फ विदुर विष्ट र भिक्टर राणाको जोडीले फाडर म्याथ्यु र प्रेम थापालाई ६–२, ६–१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरे।
६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ विजयी बने। उनले फाइनलमा भिक्टर राणालाई ६–२, ६–३ ले पराजित गर्दै उपाधि चुमे।


प्रतिक्रिया दिनुहोस्