
पोखरामा ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सुरु गरिएको हो। उद्घाटन कार्यक्रम पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए।
प्रतियोगिताको उद्घाटन खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ३–१ को जित निकाल्दै शानदार सुरुआत गरेको छ।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्ने इरानी टोली दोस्रो सेटमा भने २९–३१ ले पराजित भएको थियो। प्रतिस्पर्धात्मक दोस्रो सेटमा २९–२९ को अवस्थामा एपिएफले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पारेको हो।

Video Link – https://sendgb.com/hCtBVMIvJxi
तर तेस्रो र चौथो सेटमा इरानी टोलीले पुनः लयमा फर्किंदै २५–२३ र २५–१९ को स्कोरसहित सेट जित्दै समग्र खेल ३–१ ले आफ्नो पक्षमा पार्यो।
दोस्रो खेलमा समूह ‘बी’ अन्तर्गत भारतीय टोली र नेपाल पुलिस क्लब भिड्दै छन्।
प्रतियोगितामा कुल ६ टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् भने समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।
प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल वैशाख २२ गते हुनेछ।
विजेता टोलीले ४ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २ लाख ४४ हजार ४४४ र तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ तथा विधागत रूपमा उत्कृष्ट ठहरिएका खेलाडीहरूलाई ८ हजार ४४४ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालका अनुसार, लायन्समार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबल प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने उद्देश्य प्रतियोगिताको रहेको छ।





