विभागीय टोली नेपाल पुलिस क्लब बिराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।



बिराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको समुह चरण अन्तर्गत बिहीबार सम्पन्न अन्तिम खेलमा नेपाल पुलिस क्लबले भारतको आसाम क्रिकेट क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। अब फाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

समुह ‘बी’ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल पुलिस विजेता बन्दा आसाम क्रिकेट क्लब र कोशी प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्। यसअघि नै समुह ‘ए’ को विजेता बनेको त्रिभुवन आर्मी क्लबले फाइनलमा स्थान बनाइसकेको थियो।

उपाधिका लागि फाइनल खेल शनिवार बिहान ९ बजे बिराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हुनेछ।

बिहीबार सम्पन्न खेलमा नेपाल पुलिसले आसामलाई ६ विकेटले पराजित गर्‍यो। अघिल्लो खेलमा कोशी प्रदेशसँग पराजित भएको पुलिसलाई फाइनलमा पुग्नका लागि आसामले दिएको १५५ रनको लक्ष्य २८ ओभरभित्र पार गर्नुपर्ने चुनौती थियो। पुलिसले उक्त लक्ष्य २६.१ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्‍यो।

पुलिसको जितमा अमित श्रेष्ठ र कप्तान शंकर रानाको अर्धशतकीय अविजित साझेदारी निर्णायक बन्यो। अमितले ७२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन बनाउँदा, शंकरले ६७ बलमा ४ चौका र ४ छक्काको मद्दतले ६३ रनको योगदान दिए। दुवैले पाँचौं विकेटका लागि अविजित ११७ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

आसामका लागि गोकुल शर्माले सर्वाधिक ३ विकेट लिए भने चिरन्तन खात्तिनियरले १ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ रोजेको आसामले ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको योगफल बनायो। ओपनर राज विश्वले ३३ रन बनाए भने अरुण सोनारले ३१, केभिन संजिवले २३ र हियम कश्यपले १९ रनको योगदान दिए।

नेपाल पुलिसको बलिङमा अरुण ऐरी र श्रवन यादवले समान ३/३ विकेट लिए। ऐरीले ९ ओभरमा १ मेडन सहित १७ रन खर्चिए भने यादवले ३ ओभरमा मात्र ७ रन खर्चिए। त्यस्तै, बिपिन खत्री, सुनिल दौल्याल, चित्र बिस्ट र दिपक डुम्रेले १/१ विकेट लिए।

एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा विजेता टोलीले ट्रफीसहित नगद ४ लाख रुपैयाँ, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। उपविजेता टोलीलाई २ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ।

Scorecard : https://cricclubs.com/Nepal/viewScorecard.do?matchId=1194&clubId=1099950

प्रतिक्रिया दिनुहोस्