प्रशान्ती एकेडेमीको दोस्रो अभिभावक सम्मेलन सम्पन्न



काठमाडौं । बुढानीलकण्ठ नगरपालिका—१२, कपनमा अवस्थित प्रशान्ती एकेडेमीले दोस्रो अभिभावक सम्मेलन भव्य रूपमा सम्पन्न गरेको छ। इभरशाइन पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका अध्यक्ष मुरारी भण्डारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रिन्सिपल समिर बास्तोलाले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी रहेका थिए भने विशेष अतिथिका रूपमा वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, विभिन्न विद्यालयका प्रिन्सिपल तथा सञ्चालकहरू, अभिभावक, शिक्षक, टोल सुधार समितिका अध्यक्षहरू, कपन महिला सञ्जालका पदाधिकारीहरू, पूर्वविद्यार्थी, सामाजिक संघ(संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीहरू सहभागी भएका थिए ।

स्वागत मन्तव्य

कार्यक्रमको स्वागत मन्तव्य डा.राजेन्द्र पौडेलले गरेका थिए, जसमा उनले अभिभावकहरूको उपस्थितिलाई धन्यवाद दिँदै यस्तो सम्मेलनले अभिभावक(विद्यालय सम्बन्ध सुदृढ बनाउने विश्वास व्यक्त गरे।

पूर्वविद्यार्थीको सम्मान

विद्यालयले चार्टर एकाउन्टेन्ट रोजन नेपाल, केदार कार्की तथा अमर थापालाई विशेष सम्मान प्रदान गरेको थियो। उनीहरूलाई सम्मान गर्दै विद्यालयले पूर्वविद्यार्थीहरूको सफलता नै विद्यालयको गर्वको विषय हुने उल्लेख गरेको थियो।

प्रशिक्षणमार्फत अभिभावकलाई सशक्त पार्दै

प्रशान्ती एकेडेमीले अन्य विद्यालयहरूमा गरिने अभिभावक दिवस तथा वार्षिकोत्सवभन्दा नवीन शैलीमा अभिभावक सम्मेलन आयोजना गर्ने परम्परा बसालेको छ। प्रत्येक अभिभावकले इन्ट्री कार्डसहित व्यवस्थित रूपमा प्रवेश गर्ने तथा सम्मेलनको क्रममा अनिवार्य रूपमा प्रशिक्षण लिने व्यवस्था गरिएको थियो।

यस अवसरमा ट्रेनर इश्वर श्रेष्ठले अभिभावकहरूलाई करिब दुई घण्टासम्म प्रभावकारी प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षणले अभिभावकहरूलाई बालबालिकाको शैक्षिक उन्नति, चरित्र निर्माण र जीवनोपयोगी सीप विकासमा अभिभावकहरूको भूमिकाबारे मार्गदर्शन प्रदान गरेको थियो।

बक्ताहरूका प्रेरणादायी मन्तव्य
सम्मेलनमा नगर प्रमुख मिठाराम अधिकारी, वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, विद्यालयका अध्यक्ष मुरारी भण्डारी लगायतले अभिभावक शिक्षाको महत्त्वबारे प्रकाश पारे। उनीहरूले गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि विद्यालय, अभिभावक र स्थानीय सरकारबीचको सहकार्य अझ बलियो बनाउने प्रतिबद्धता जनाए।

विद्यार्थी र शिक्षकहरूद्वारा आकर्षक प्रस्तुति

कार्यक्रममा विद्यार्थीहरू र शिक्षकहरूले विभिन्न सांस्कृतिक तथा शैक्षिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। यसले कार्यक्रममा थप उत्साह थपेको थियो।

प्रशान्ती एकेडेमीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि मात्र नभई अभिभावकहरूलाई पनि शिक्षित, सशक्त र जिम्मेवार बनाउन विशेष ध्यान दिँदै आएको छ। यस प्रकारका सम्मेलनहरूले विद्यालय, विद्यार्थी, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्