बासबारी क्लबलाई प्रुडेन्सियल ईन्स्योरेन्सको मुख्य प्रायोजन



काठमाडौं। सहिद स्मारक बी डिभिजन लिग क्लब बासबारीले आईजीआई प्रुडेन्सियल ईन्स्योरेन्स लिमिटेडलाई मुख्य प्रायोजकको रुपमा भित्राएको छ ।

क्लबका अध्यक्ष प्रेम थापाकाअनुसार प्रुडेन्सियलले मुख्य प्रायोजनस्वरुप बासबारी क्लबलाई १० लाख रुपैयाँ दिने सम्झौता गरेको हो । जसअनुसार क्लबले नगद ७ लाख र ३ लाख बराबरको खेल सामाग्री पाउनेछ ।

काठमाडौं महानगरपालिका वडा नं.३ का अध्यक्षसमेत रहेका थापा र प्रुडेन्सियल ईन्स्योरेन्सका चिफ मार्केटिंग म्यानेजर श्रीराम भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

त्यस्तै, क्लबलाई आईएमई ग्रुपले सह प्रायोजन गर्ने भएको छ । उसलाई आईएमईले ३ लाख दिनेछ । क्बलाई काठमाडौं महानगरपालिका वडा ३ ले पनि ५ लाख दिएको छ । अध्यक्ष थापाका अनुसार यो सिजनको लागि ५० लाख बढी खर्च हुनेछ ।

बासबारीले एन्फा कम्प्लेक्स, सातदोबाटोमा आज बुधबार सरस्वती युवा क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै यो सिजनको बी डिभिजन लिग सुरुआत गर्दैछ । निरन विष्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको क्लबले ए डिभिजनमा उक्लिने लक्ष्य राखेको छ । बासबारी पछिल्लो सिजन शीर्ष चारमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्