प्रशिक्षक कपालीप्रति श्रद्धाञ्जली



क्योकुसिन कराते (ईको) का प्रशिक्षक एवं पूर्व खेलाडी रोशन कपालीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । अन्तिम संस्कार गर्नुअघि स्व. कपालीको पार्थिव शरीरलाई मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा राखिएको थियो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, नेपाल क्योकुसिन कराते (ईको) संघका अध्यक्ष दमन बस्नेत र पदाकिारी, नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्री, खेलाडी, प्रशिक्षक, कर्मचारी, आफन्तजनलगायतले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मधुमेह रोगबाट पीडित ५६ वषीर्य कपालीको गत आइतबार निधन भएको थियो । आइतबारै उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो ।

फागुन ९ देखि १३ गतेसम्म भएको चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा प्रशिक्षकका रुपमा स्व. कपालीसहित ५ सदस्यीय नेपाल टोली जापान गएको थियो । उक्त प्रतियोगिताको पुरुष एकल कातामा दावा शेर्पाले नेपाललाई रजत दिलाएका थिए । टोली फागुन १४ गते स्वदेश फर्किएको थियो ।

स्व. कपालीको आइतबार पशुपतिमा अन्तिम संस्कार गरिएको छ । स्व. कपालीका श्रीमति, छोरा र २ छोरी  छन् । छोरी विदेशबाट आउनु परेकाले आइतबार मात्र अन्त्येष्टी गरिएको नेपाल क्योकुसिन कराते (ईको) संघका महासचिव संगीत बस्नेतले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्