हिमचितुवा र मानवबिचको द्वन्द्वले उपल्लो मुस्ताङको पशुपालन व्यवसाय सङ्कटमा



मुस्ताङ । पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबिचको द्वन्द्वले पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । हिमचितुवाको आतङ्कले स्थानीय पशुधनमाथि आक्रमण गरी पटकपटक क्षति तुल्याउने घटना दोहोरिँदा उपल्लो मुस्ताङका किसानको सदियौँ वर्ष पुरानो पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।

जिल्लामा हिमचितुवाको एकीन तथ्याङ्क छैन । अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको उपल्लो मुस्ताङमा हिमचितुवाले चरन क्षेत्र, खर्क र पशु गोठमै पसेर पशुधनको क्षति गरिदिँदा उपल्लो मुस्ताङका पशुपालक किसानको व्यवसाय नै लोप हुने खतरा बढेको हो ।

जलवायु परिवर्तनले हिमाली उच्च लेकमा चरन क्षेत्र साँघुरिँदै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेको र घाँसको खोजीमा हिमचितुवाको मुख्य आहार नाउर बस्ती तल झर्ने गरेको पाइएको छ । हिमालकी रानी हिमचितुवा आहारको खोजीमा नाउरलाई पछ्याउँदै बस्तीसम्म आइपुग्दा घरपालुवा पशुचौपाया क्षति हुने जोखिम बढेको हो । तर संरक्षिणविद्हरूले हिमचितुवा सडक र बस्तीमा झर्नुमा फरकफरक भनाइ राख्ने गरेका छन् ।

दुई वर्षअघि लोघेकर दामोदरकुण्ड–२ ढाक्मरमा स्थानीय किसान मिङमार गुरुङको ७९ वटा च्याङ्ग्रा हिमचितुवाले आक्रमण गरी मार्यो । तारबारसमेत लगाइएको च्याङ्ग्रा गोठमा जाली नाघेर चारवटा हिमचितुवा खोरमा पसेर गुरुङको ठूलो सङ्ख्यामा च्याङ्ग्रा क्षति पुर्यायो । यस्तै, चालु वर्ष फागुनको पहिलो हप्ता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ समरका स्थानीय पशुपालक नवीनकुमार गुरुङको गोठमा रहेको ३३ वटा च्याङ्ग्रामध्ये चारवटा हिमचितुवाले आक्रमण गरी मार्यो ।

नवीन र मिङ्मार केवल प्रतिनिधि पात्रमात्र हुन् । मुस्ताङमा हिमचितुवाले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका दर्जनौँ पशुपालक किसानलाई हिमचितुवा र अन्य वन्यजन्तुले पशुधनमा क्षति तुल्याउन गरेको छ । यसैका कारण मुस्ताङमा घरपालुवा पशुपालन व्यवसायमा हिमचितुवा र वन्यजन्तुको थप जोखिम बढेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले चालु आवको १० महिनामा हिमचितुवाले १३ वटा पुशधनमा क्षति तुल्याएको बताएको छ । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार चालु आव २०८१/८२ को साउनदेखि माघ मसान्तसम्ममा तीनवटा घोडा, छवटा च्याङ्ग्रा र चारवटा याकलाई हिमचितुवाले आक्रमण गरी क्षति बनाएको जानकारी दिए ।

यसैगरी गत वर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका विभिन्न पशुपालक किसानको कुल एक सय ८० वटा पशुधनमा हिमचितुवाले क्षति बनाएको छ । एक्याप कार्यालय लोमान्थाङको रेकर्डअनुसार गत वर्ष घोडा १४, च्याङ्ग्रा एक सय ५४ र भेडा १२ वटालाई हिमचितुवाले मारेको थियो । मुस्ताङमा आव २०७९/८० मा मुस्ताङका पाँचवटै पालिका गरी १३ घरपरिवारका ६५ पशुधनमा क्षति भएको थियो ।

जिल्लाको पुख्र्यौली व्यवसायका रूपमा याकचौँरी, घोडा र भेडाच्याङ्ग्रा पालन गर्ने गरिएको छ । यो यहाँको आर्थिक व्यवसायका रूपमा मात्र सीमित छैन, हिमाली संस्कृतिसँग पनि जोडिएको छ । यसरी पालन गरिएका याकचौँरी र भेडाच्याङ्ग्रा पशुपालक किसानलाई एक्याप कार्यालयले आवश्यक प्रक्रिया पुर्याएर नियमानुसार राहत वितरण गर्ने गरेको छ । तर, एक्यापले वन्यजन्तु क्षतिको राहत वितरण गर्ने गरेको भए पनि उपल्लो मुस्ताङका पशुपालकले राहतका लागि एक्यापको सम्पर्क आउनेको सङ्ख्या कम भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाइ छ । उनले वन्यजन्तुपीडित घटना घटे पनि राहतको लागि सम्पर्क आउन नसक्दा वन्यजन्तुको क्षति एकीन तथ्याङ्क सङ्कलन गर्न समस्या पर्ने गरेको बताए ।

“हामीले वन्यजन्तु क्षति भएमा समुदायमा रिपोर्ट गर्न भनेका छौँ, संरक्षण क्षेत्र व्यवस्थापन समिति र प्रहरी युनिट पनि छन्”, एक्याप लोमान्थाङ प्रमुख पौडेलले भने, “वन्यजन्तु क्षतिका विवरण सङ्कलनदेखि सबै कागजी प्रक्रियाका एक्याप कार्यालयले कर्मचारी खटाएर सहजीकरण गर्छ ।” कार्यालय प्रमुख पौडेलले अब चाँडै वन्यजन्तु क्षति रकम आउने र त्यसलाई समुदायमा पुगेर पीडितलाई वितरण गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्