नखिपोटको विजयी सुरुआत



काठमाडौं। आयोजक नखिपोट युवा क्लबले खुला बास्केटबल प्रतियोगिताको पहिलो दिन बुधबार पुरुषमा विजयी सुरुआत गरेको छ ।

क्लबसंगै नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरको संयुक्त आयोजनामा भएको नखिपोटमा भइरहेको प्रतियोगितामा नखिपोटले आईएसए नेपाललाई ७६–७१ ले पराजित ग¥यो । विजयी टिमका लागि सुविन श्रेष्ठले २१ अंक जोडे ।

पुरुषकै अर्को खेलमा टाइम्सले बौद्धलाई ८६–६४ ले हरायो । टाइम्सका लागि श्रेयसबहादुर सानले २९ अंक  जोडे । महिलामा कीर्तिपुरले आईएस नेपाललाई ५२–४९ ले पाखा लगायो । विजेताकी झर्ना वज्राचार्यले १९ स्कोर गरिन् ।

प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य जितजंग बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषतर्फ १५ र महिलामा ३ टिम सहभागी छन् । पुरुषको खेल नकआउट आधारमा हुनेछ । महिलामा सहभागी टिमबीच पहिले राउन्ड रोविन लिग र त्यसपछि शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक विनोद श्रेष्ठले जनाएका छन् ।

पुरुषमा पहिलो हुनेले १ लाख र दोश्रोले ५० हजार नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष एवं क्लबका महासचिव पुनित गुरुङले बताए । महिलाको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवै समूहको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समान २०–२० हजार तथा उदीयमान खेलाडीलाई समान १०–१० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्