फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप पहिलो दिन सदभाव, इधान्त र‌ अभानी शीर्षस्थानमा



काठमाडौं । फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन १७ देखि २१ वर्ष उमेर समुहमा सदभाव आचार्य शीर्षस्थानमा रहेका छन्। १-ओभर ६९ को स्कोरमा सदभावले प्रकृत तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन्।

रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले पहिलो र सातौं होलमा बर्डी प्रहार गरे पनि पाँचौं होलको डबल बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। यसपछि १०औं र १४औं होलमा एक-एक सट गुमाए भने १८ औं होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे। प्रकृतले ४-ओभर ७२ को स्कोरमा पहिलो दिनको खेल दोस्रो स्थानमा सकाए। उनले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाएका थिए।

तर यसपपछि लय गुमाए। ब्याक ६-ओभर ४० मा सकाउन बाध्य भए। ७-ओभर ७५ को स्कोरमा स्वप्निल भट्टराई तेस्रो स्थानमा छन्। १२ देखि १६ वर्ष उमेर समुहमा इधान्त सिंह साउद १२-ओभर ८० को स्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले दीपेश श्रेष्ठलाई ४ स्ट्रोकले पछि पारे। दीपेश १६-ओभर ८६ सहित दोस्रो स्थानमा छन्। सिद्धान्त सापकोटा १७-ओभर ८७ सहित तेस्रो स्थानमा रहे। गल्स १२-२१ वर्ष उमेर समुहमा अभानी राई २०-ओभर ८८ सहित शीर्षस्थानमा रहिन्। उनले अनभद्धया मल्ललाई १० स्ट्रोकले पछि पारिन्। अनभद्धया ३०-ओभर ९८ सहित दोस्रो स्थानमा रहेकी छिन्।

चार प्रदेशका ३१ जना जुनियर गल्फरहरू मध्य पहिलो दिन १ सय भन्दा बढी स्कोर गर्ने १४ खेलाडी १८ होलको खेल पश्चात बाहिरिएका छन्। प्रत्येक समूहका विजेताले आगामी अप्रिल २३ देखि २५ सम्म भियतनामको ला-लगुनामा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा स्थान बनाउनेछन्। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव भने स्वत: छनोट भैसकेका छन्। गत नोभेम्बरमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यु-२१ तर्फ उपाधि जितेको कारण उनी स्वत: छनोट भएका हुन्। यो पटक सदभाव सहित चार नेपाली गल्फरहरूले फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनल खेल्ने अवसर प्राप्त गर्नेछन्। प्रतियोगितामा चार प्रदेशका ३१ जना जुनियर गल्फरहरूको सहभागीता रहेको छ।

प्रतिक्रिया दिनुहोस्