यु–१४ मा अर्सनालाई स्वर्ण



आदर्श विद्या मन्दिर (एभीएम) की अर्सना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा बुधबार स्वर्ण जितेकी छन् ।

अर्सनाले फाइनलमा सेन्ट मेरिजकी सुरम्य शाक्यलाई ३–० को सोझो पराजित गरिन् । फ्युचर स्टारकी एमरिन महर्जन र ग्लोरियाकी ममता बोहरा तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्स फाइनलमा एभीएमका स्वर्णिम शाक्य पहिलो भए । उनले फाइनलमा डिएभीका रिभानमुनि वज्राचार्यलाई ३–२ ले हराए । प्रभातका सफल अवाल र बृहस्पतिका विनम्र घिमिरे तेश्रो बने ।

रेड टाइल्सद्वारा आयोजित प्रतियोगिताअन्तर्गत सिंगल्सको यु–१६ ब्वाइजमा एभीएमका प्रजिल भट्टराई र गल्र्समा ग्लोरियाकी महिमा महताले स्वर्ण जिते ।

फाइनलमा प्रजिलले एभीएमकै जयश्नु महर्जनलाई ३–१ ले पाखा लगाए । भासराका रिजन शाक्य र वचन विष्ट तेश्रो स्थानमा रहे । महिमाले फाइनलमा दार्जलिङ पब्लिककी मनाली चन्दलाई ३–० सोझो सेटमा पन्छाइन् । प्रभातकी सेफिना कोजु र जस्मिता देवनाथ तेश्रो भए ।

प्रतिक्रिया दिनुहोस्