
विराटनगर । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका कैदी फरार भएका छन् ।
जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएका हुन् ।
कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो ।
प्रहरीका अनुसार बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् । शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले बताएको छ ।
विराटनगर महानगरपालिका-८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् ।





