बाँकी संघको पनि निर्वाचन सम्भव तुल्याइ छाड्नेछु : सदस्य–सचिव



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले निर्वाचन हुन बाँकी रहेका राष्ट्रिय खेल संघको निर्वाचन सम्भव तुल्याइ छाड्ने बताएका छन् ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् । ‘म परिषद्मा आउँदा २ सय भन्दा बढीको हारीहारीमा राष्ट्रिय खेल संघ थिए । निर्वाचन कुन चराको नाम हो जस्तो थियो ।

अहिले ६१ राष्ट्रिय खेल संघ कायम गरिएको छ । ४३ वटाको निर्वाचन भएको छ । बाँकीको निर्वाचन हुन सकेको छैन । तिनि भित्र एथलेटिक्स संघ पनि परेको छ । म यहाँहरुलाई के विश्वास दिलाउन चाहन्छु भने एथलेटिक्स संघको निर्वाचन प्रक्रिया पनि छिट्टै आरम्भ हुनेछ ।’ सदस्य–सचिव घिसिङले भने– ‘सामान्तय परिषद्ले कुनैपनि संघमा हस्तक्षेपकारी कदम चालेको छैन ।

मैले संघहरुलाई व्यवस्थित बनाउनका निम्ति ध्यानाकर्षण गराउने काम भने गरेको छु । त्यसलाई हस्तक्षेप मान्नु भएन । एउटा विधिमा हिडाउनका निमित्त मात्र कोसिश गराएको हुँ । त्यो एउटा सत्प्रयासबीचमा ४३ वटा संघको निर्वाचन हुँदो रहेछ भने बाँकी संघको पनि निर्वाचन सम्भव तुल्याइ छाड्ने छु ।’

प्रतिक्रिया दिनुहोस्