अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत



काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई आइतबार नगदसहित पुरस्कृत गरेको छ । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरे । कुल २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङलाई १९ लाख ५० हजार नगद पुरस्कार प्रदान गरियो । एरिकाले जितेको रजत नेपालले एसियाली खेलकुदको करातेमा हात पारेको सबै भन्दा ठूलो उपलब्धी हो । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार तथा सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीले समान ७८–७८ नगद पुरस्कार पाए । टिम व्यवस्थापक निवासगोपाल वैद्य १ लाख ९५ हजार नगदसहित पुरस्कृत भए । करातेतर्फ जम्मा २५ लाख ३५ हजार नगद पुरस्कार वितरण गरियो ।

हाङझाव एसियाडमै ऐतिहासिक कांस्य विजेता नेपाल महिला कबड्डी टोलीका मेनुकाकुमारी राजवंशी(कप्तान), मानमति विष्ट, जयन्ती बडू, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जनाकुमारी थारु र कलावती पन्तले जनही ३ लाख ९० हजार नगद पुरस्कार प्राप्त गरे । प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले समान १ लाख ३० हजार नगद पुरस्कार हात पारे । एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले पहिलो सहभागितामै पदक जित्न सफल भएको थियो । कबड्डी टोलीले कुल ४८ लाख १० हजार नगद पुरस्कार पाए ।

चीनको हाङझावमै भएको चौथो पारा एसियाली खेलकुदको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धनले १३ लाख नगदबाट पुरस्कृत भइन् । पारा एसियाली खेलकुदमा पलेशाले हासिल गरेको पदक नेपालको अहिलेसम्मकै एक मात्र पदक हो । अघिल्ला तीन संस्करणमा नेपाल नियमित रुपमा सहभागी भएपनि पदक भने जित्न सकेको थिएन । प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार नगद पुरस्कार पाए ।

आईसीसी टी– २० वल्र्ड कप फाइनल एसियामा दोश्रो भएको राष्ट्रिय पुरुष क्रिकेट टोलीका रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अविनाश बोहरा, कुशल मल्ल, विवेककुमार यादव, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा, करण केसी, सन्दिप लामिछाने, सन्दिप जोरा, प्रतिश जिसी, ललितनारायण राजवंशी र विनोद भण्डारीले जनही १३ लाख नगद पुरस्का प्राप्त गरे । क्रिकेट टोलीका अधिकांश खेलाडी टी– २० विश्वकपका लागि वेस्ट इन्डिजमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । मुख्य प्रशिक्षक म्रुगाङ जग्दशी देसाइ (मोन्टी देसाइ) ले ३ लाख ९० हजार, सहायक प्रशिक्षक बसन्त शाही, व्यवस्थापक सुमनराज कार्की र फिजियो विक्रम न्यौपानेले समान १ लाख ९५ हजार रुपैयाँ हासिल गरे । क्रिकेटमा सर्वाधिक २ करोड ४ लाख ७५ हजार रुपैयाँ प्रदान गरियो ।

राखेपको सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले खेलाडीसहित टोलीको पुरस्कारका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई गत बैशाख ७ गतेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्