ब्याडमिन्टनमा बागमती अगाडि



काठमाडौं । बागमती प्रदेशले प्रथम यु–१५ विद्यालय खेलकुदको ब्याडमिन्टनमा बिहीबार सर्वाधिक २ र ३ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको छ ।

दोश्रो स्थानको लुम्बिनीले २ स्वर्ण तथा तेश्रो भएको गण्डकीले १ स्वर्ण, ३ रजत र २ कांस्य पदक जिते । बाँकी ४ प्रदेश स्वर्णविहीन बने । कोशी र कर्णाली पदकविहीन रहे । सात प्रदेशबाट ५६ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पाँचै स्पर्धाको फाइनल बिहीबार भएको थियो ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको ब्वाइज फाइनलमा लुम्बिनीका सुविन श्रेष्ठले गण्डकीका सफल भुजेललाई २१–१७ र २१–११ को सोझो सेटमा पराजित गरे । सो स्पर्धाको गल्र्सको उपाधि भिडन्तमा बागमतीकी रिहाना शेरचनले कोशीकी निभा राईलाई सीधा सेटमा २१–१० र २१–१९ ले हराइन् ।

ब्वाइज डबल्समा लुम्बिनीका सुविनले सुदेश राजकोटीसंग मिलेर अर्को स्वर्ण जिते । उक्त जोडीले फाइनलमा गण्डकीका सफल र गेजराजर कार्कीको जोडीमाथि १९–२१, २१–१६ र २१–१३ को कठिन जित दर्ता गरे । सोही स्पर्धाको गल्र्समा रिहानले पनि टीशारानी शाक्यसंग मिलेर दोहोरो स्वर्ण जित्न सफल भइन् । उक्त जोडीले फाइनलमा गण्डकीका दिलाशा राणा र समृद्धि श्रेष्ठको जोडीलाई २१–१६ र २१–१६ ले पाखा लगाए ।

मिक्स डबल्समा गण्डकीका सफल भुजेल र दिलाशा राणाको जोडी च्याम्पियन बने । सफल र दिलाशाको जोडीले फाइनलमा कोशीका सदिप राई र निभा राईको जोडीलाई २१–१५ र २१–१२ को सोझो सेटमा पन्छाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेपका सदस्य अञ्जन धमलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्