कुङफुमा रजिन र राजको ह्याट्रिक स्वर्ण



काठमाडौंका रजिन च्यामेले तेश्रो राष्ट्रिय कुङफु प्रतियोगितामा शनिबार तेहोरो स्वर्ण जितेका छन् । उनले सिनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्ड स्पर्धामा स्वर्ण जितेका हुन् ।

कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुषको लङ वेपनमा ओखल्ढुंगाका कुमार बलामी दोश्रो तथा ललितपुरका पेम्बा शेर्पा तेश्रो भए । सर्ट वेपनमा पनि कुमार र पेम्बाले त्यही सफलता दोहो¥याए । बेयर ह्यान्डमा भने पेम्बाले रजत तथा कुमारले कांस्य हात पारे ।

नेपाल कुङफु संघको आयोजना तथा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालको सह–आयोजनामा भएको प्रतियोगितामा धादिङका राज थापाले पनि स्वर्णमा ह्याट्रिक गरे । उनले जुनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्डमा गरी ३ स्पर्धामा स्वर्ण जिते । बेयर ह्यान्डमा गोर्खाका सागर गुरुङले रजत तथा काठमाडौंका अमोद बस्नेतले कांस्य हात पारे । लङ वेपनमा गोर्खाका सागर दोश्रो तथा काठमाडौंका रिकेश च्यामे तेश्रो बने । सर्ट वेपनमा गोर्खाका सागर दोश्रो र काठमाडौंका अमोद तेश्रो स्थानमा रहे । जुनियर महिलाको बेयर ह्यान्डमा काठमाडौंकी यौकी गुरुङले शीर्ष स्थान हात पारिन् ।

प्रतियोगिताको बागमती प्रदेशका पूर्व मन्त्री पुकार महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिनका पदक विजेतालाई नेपाल कुङफु संघका अध्यक्ष सीताराम हुमागाईं, कुङफुका प्रशिक्षक सुकमान लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

प्रतियोगितामा विभिन्न १६ जिल्लाका १ सय ८० खेलाडीले सिनियर र जुनियरमा गरी ४४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको सह–आयोजक मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले जनाएका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्