नवलपुरको मध्यविन्दु ‘स्कुल  टु ओलम्पिक’सम्पन्न



नवलपुरको मध्यविन्दु नगरपालिकामा ‘स्कुल  टु ओलम्पिक’ कार्यक्रम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको वार्षिक कार्यक्रम अनुसार आयोजित उक्त कार्यक्रम मध्यविन्दु नगरपालिकाले सहकार्य गरेको हो । नवलपुरको विभिन्न पाँच पालिकाका विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षा सम्म अध्यापनरत २०० भन्दा बढि विद्यार्थी र ओलम्पियनबीच अन्तक्रिया गरी विद्यार्थीहरुलाई खेलकुदका विभिन्न आयामहरुका बारेमा जानकारी गराइएको थियो ।

गण्डकी प्रदेशमा नै पहिलो पटक आयोजित कार्यक्रमको मध्यविन्दु नगर पालिकाका नगर प्रमुख भिमलाल अधिकारीले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । उनले सो अवसरमा परिषद्लाई यो अवसर दिएकोमा आभार व्यक्त गर्दै विद्यार्थी र ओलम्पियन बीचको यो अन्तक्रियाले धेरै यूवा खेलाडी उत्पादन गर्ने संगै अनुशासित नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताए ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव एवं कार्यक्रमका अध्यक्ष श्रीधर शर्माले मध्यविन्दु नगरपालिका खेलकुदमा देशकै उत्कृष्ट पालिका समेत घोषित भएकोले परिषद्ले मध्यविन्दुमा यो कार्यक्रम आयोजना गरिएको  बताए । उनले ओलम्पियन र विद्यार्थी बीचको सम्बन्ध नजिक बनाउन र विद्यार्थीहरुलाई खेलकुदमा आकर्षण गर्न कार्यक्रम फलदायी हुने बताए । उनले यस्तै प्रकारका कार्यक्रम प्रदेशका अन्य तीन जिल्लामा गर्ने समेत तयारी भइरहेको बताउँदै परिषद्ले समाजमा खेल संस्कृतिको विकास गर्न अहम भूमिका खेल्ने बताए ।

प्रदेश सरकारले खेलाडीहरुको योगदानलाई सम्मान गर्दै मासिक भत्ता दिन सुरु गरेको जनाउँदै समाजको हरेक क्षेत्रमा ओलम्पियनहरुले राष्ट्रलाई दिएको योगदानका बारे अझै सुसुचित हुनुपर्ने सदस्य सचिवको भनाई थियो । विद्यालयतहमा खेलकुदलाई सहज पहुँच र विपन्न वर्गका बीच खेलकुद पुर्याउन प्रदेश खेलकुदले स्कुल टु ओलम्पिक र खेल्छ गण्डकी जस्ता बहुआयमिक कार्यक्रमहरु अघि बढाएको बताउँदै उनले खेलकुदले नै देशको समृद्धिको आधार हो भन्ने कुरालाई स्थापित गर्न परिषद् प्रयासरत रहेको जनाए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै ओलम्पिन एसोशियसनका अध्यक्ष दिपक विष्टले यस प्रकारका कार्यक्रम विगतदखि नै आयोजना हुँदै आएको बताउँदै खेलकुदको उर्वर भूमी नवलपुरमा ओलम्पियन र विद्यार्थीहरु बीचको यो सम्वादले समाजले अनुशासित यूवा खेलाडी उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए । विद्यार्थीहरु राष्ट्रको कर्णधार समेत रहेकाले पनि अझै अनुशासित भई अघि बढ्नुपर्ने कुरा औंल्याउँदै हरेकले आफ्नो उत्तरदायित्व बहन गर्न दृढ संकल्पका साथ लगनशिल भएमा मात्रै लक्ष्यमा पुग्न सकिने उनले बताए ।

सो अवसरमा नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठलगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा ओलम्पियन टिका बहादुर बोगोटी, ओलम्पियन देवु थापा, ओलम्पियन कमलबहादुर अधिकारी र विशेष आकर्षणको रुपमा तेक्वान्दोकी सिता तामाङ र नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्