पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु



कास्की । दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका–२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ ।

“महानगरको नमूना कार्यक्रमका रुपमा वडा नं.२५ बाट यो कार्यक्रम सुरु गरिएको छ । ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ”, हेम्जा स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले भने ।  सरकारले सूचिकृत गरेका औषधि पनि  निःशुल्क वितरण गरिने उनले बताए ।

समुदायमा स्वास्थ्य सचेतना र प्रवद्र्धनका कार्यक्रम सँगसँगै सञ्चालन गरिने उनले बताए । कार्यक्रमअन्तर्गत विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने, औषधि नियमित रूपमा खाएनखाएको अनुगमन गरिने छ । दुई महिनाको एकपटक बिरामीको घरमै पुगेर सेवा प्रवाह गर्ने कार्यविधि बनेको छ । 

आधारभूत स्वास्थ्य जाँचअन्तर्गत उच्च रक्तचाप, शरीरको तापक्रम, अक्सिजनको मात्रा, मधुमेह, कमलपित्त, नाडीको चाललगायत सेवा प्रदान गरिनेछ छ । मुटु रोग, श्वासप्रश्वास, दम, क्यान्सरलगायत नसर्ने रोगबारे जानकारी पनि दिइनेछ । 

वडा कार्यालयको बजेटबाट कार्यक्रम सुरु गरिएको वडाध्यक्ष मोती तिम्सिनाले बताए । “हरेक नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत र जिम्मेवार रहन पनि यो कार्यक्रमले मद्दत पुग्ने हाम्रो विश्वास  छ”, उनले भन । 

प्रतिक्रिया दिनुहोस्