बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द



बैतडी  । जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाबस्वरुप चिकित्सकहरु आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

काम गरेका महिनौँ हुँदा समेत आफूहरूले पारिश्रमिक नपाउँदा  बाध्य भएर आन्दोलित हुनुपरेको बैतडी अस्पतालका डा हरिश्चन्द्र विष्टले बताए । उनले भने, “आफूहरु बिरामीको सेवामा अहोरात्र खटिँदासमेत मन्त्रालयले रकम भुक्तानी गरेको छैन ।” 

विगत नौ महिनादेखि अतिरिक्त भत्ता, सार्वजनिक बिदामा काम गरे बापतको भत्ता र प्रयोगशालामा काम गरेको बापतको जोखिम भत्ताको रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सकले आजदेखि सेवा ठप्प पारेका हुन् । उनीहरुले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिकबाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए ।

बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्टिमेटम शनिबार सकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनवाइ नभएको चिकित्सक तथा स्वास्थ्यकर्मीको आरोप छ ।

चिकित्सक बाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीलेसमेत अतिरिक्त सेवा बापतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डा धीरज जैसवालले बताए । उनले भने, “हामीले विगतदेखिनै तलब भुक्तानीका लागि माग गरेका हौँ तर मन्त्रालयले उक्त माग सम्बोधन गरेन । बाध्य भएर आन्दोलनमा उत्रिएकका छौँ ।” 

आफूहरुको माग पूरा नभएसम्म बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन नगर्ने डा तथा कर्मचारीको अडान छ । जिल्ला अस्पतालका अख्तियार प्राप्त मेडिकल सुपरिडेन्ट र अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोही समस्या समाधानका लागि मन्त्रालयमा धाइरहेको जनाइएको छ । तर मन्त्रालयको भने बैतडी अस्पतालको समस्या समाधानतर्फ ध्यान जान सकेको छैन । 

पटक–पटक मन्त्रालयको ध्यानाकर्षण गराउँदासमेत समस्या समाधान नभएकाले आफुहरु धनगढीमै बसिरहेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन् । डा.तथा अस्पतालका कर्मचारीको टोलीले जिल्ला प्रशासन कार्यालयकोसमेत ध्यानाकर्षण गराएका छन् । यसबारेमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकलाई सुझाएका छन् ।

उनले भने, “तपाईहरुका मागको बारेमा सम्बन्धित निकायमा कुरा भइसकेको छ, समस्या समाधान होला,  बिरामीलाई मर्का पर्ने काम गर्नुभएन ।” बैतडी जिल्ला अस्पतालमा ११ जना चिकित्सक कार्यरत छन् । स्वास्थ्य सेवा नियमावलीअनुसार सातामा ४० घण्टाभन्दा बढी काम गरेमा र सार्वजनिक बिदामा काम गरेको अवस्थामा अतिरिक्त भत्ता पाउने व्यवस्था छ । मेडिकल अधिकृतको हकमा सम्बन्धितले पाउने मासिक तलबअनुसार ८ घण्टा अतिरिक्त काम गरेमा दैनिक एक हजार छ सय भत्ता दिने व्यवस्था रहेको छ । 

निमित्त मेडिकल सुपरिटेन्डेन्ट विष्ट जिम्मेवारीबाट अलग

यसैबिच जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.हरिशचन्द्र विष्टले आफू जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको आन्दोलनमा समर्थन जनाउँदै भोको पेटमा काम गराउन नसक्ने भन्दै उनले निमित्त मेसुको जिम्मेवारी छोडेका हुन् । जिल्ला अस्पताल बैतडीका मेसु डा.सुशील विकले वैशाख २० गते उनलाई निमित्त दिएर जिल्ला बाहिर रहेका छन् ।

बैतडी जिल्ला अस्पतालमा एघारजना चिकित्सक कार्यरत छन् ।  स्वास्थ्य सेवा नियमावलीअनुसार सातामा ४० घण्टाभन्दा बढी काम गरेमा र सार्वजनिक बिदामा काम गरेको अवस्थामा अतिरिक्त भत्ता पाउने व्यवस्था छ । मेडिकल अधिकृतको हकमा सम्बन्धितले पाउने मासिक तलबअनुसार आठ घण्टा अतिरिक्त काम गरेमा दैनिक एक हजार छ सय भत्ता दिने व्यवस्था रहेको छ । अस्पतालको सेवा प्रभावित हुने भएपछि यहाँका बिरामी तथा सेवाग्राहीलाई समेत समस्या हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्