भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी



काठमाडौँ । विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो । 

खानी तथा भूगर्भविभागको आयोजनामा हुने प्रदर्शनीमा गोरखा भूकम्पलगायत डोटी, बझाङ, जाजरकोटमा भएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृश्य समावेश छन् । 

विभागका अनुसार भूकम्पीय विपद् सामान्य हुँदै जाने क्रममा विगतका पीडा बिर्सँदै जाने मानवीय स्वभाव छ ।  फोटो प्रदर्शनीको माध्यमबाट सचेत रहन सन्देश दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।  विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जनसाधारणलाई भूकम्पबाट सधैँ सतर्क रहन अभिप्रेरित गर्ने उद्देश्यले विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र  महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’सँगको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको बताए । 

गोरखा भूकम्पमा नौ हजारले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार उक्त भूकम्पको एक वर्षसम्म पाँचसयभन्दा बढी परकम्प महसुस गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्