थाप्राङ–तिपाङ जोड्ने पुल निर्माण



चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्ग पुल निर्माण सम्पन्न भएको छ । सो पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ । 

बहत्तर मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने बताए ।

चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ । अध्यक्ष गुरुङले भने, ‘पुल निर्माणपछि स्वास्थ्य उपचार गर्न समेत स्थानीयलाई सहज भएको छ ।’ पुल निर्माणपछि चितवन मात्र नभई धादिङका नागरिकलाई समेत सहज भएको छ । 

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरुलाई थप नजिक बनाएको बताए । ‘तिपाङभन्दा माथि पनि साना–साना बस्ती छन्,’ उनले भने, ‘यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिँडडुल गर्न सजिलो हुनेछ ।’ 

पुल निर्माणका लागि २०७८ सालमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । ‘भौगोलिक विकटताका कारण निर्धारित समयमा सम्पन्न हुन सकेन,’ बस्नेतले भने, ‘अझै पनि यहाँ बिजुली र बाटोघाटोको समस्या छ । जनश्रमदानबाट पुल निर्माण गरिएको हो । फलामको काम बाहेक सबै स्थानीय सामग्री र श्रमदान प्रयोग गरिएको छ ।’

 धादिङबाट चितवन आउनुभएका राजेश चेपाङ पुल निर्माण भएपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताए । उनले पहिले बर्खाको समयमा आवतजावत बन्द हुने गरेको अनुभव सुनाउँदै पुल बनेपछि निकै खुसी लागेको बताए । थाप्राङ माइत भएकी सुनिता चेपाङ पुल नहुँदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समयमा माइत आउन पाइने भएकाले खुसी लागेको बताए । उनले पहिलोपटक पुल तरेर आउँदा निकै उत्साहित भएको बताए । गाउँपालिका, जिल्ला समन्वय समिति र सहभागी नेपाल संस्थाको करिब रु ३३ लाखको लागतमा पुल निर्माण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्