बोरिस र देवको विजयी सुरुआत



बोरिस अधिकारी र देव आशिष रेउलेले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार जित हात पारेको छन् ।

भद्रकालीस्थित आर्मी क्लबको कोर्टमा बोरिसले मुकिम थापालाई ६–४ र ७–५ तथा देवले रन्जित अछामीलाई ६–७, ६–३ र ७–५ को सेटमा पराजित गरे । सो स्पर्धाको अन्य खेलमा आयुशमान हजुर घले, सविन श्रेष्ठ, निहालजंग थापा, प्रसिद्ध मोक्तान, गोविन्द नेपाली र दर्शिल श्रेष्ठले पनि आ–आफ्नो खेल जिते ।

प्रतियोगिताका खेलहरु २ स्थानमा भइरहेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा अमित गुरुङ, रामबहादुर नेपाली, सोवित गौचन, दावा सोनाम शेर्पा, नवीन श्रेष्ठ, प्रवेश पन्त, इलम दिक्षित, कुमार तामाङ र अक्ष्य थापा विजयी भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा शिवप्रसाद सेढाईं, जोरोम इडउ, राम राणा, लाक्पा शेर्पा, राजेश क्षेत्री, अमृतरत्न कंशाकार, उत्तम बोगटी र मनोजविक्रम शाहले पहिलो चरणमा जित निकाले ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा युवराज थापा, कमलबहादुर भण्डारी, अमृत रोक्का, सूर्य गिरी, बलराम सापकोटा र सुकमान तामाङले विजयी सुरुआत गरे । काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ६५ वर्षमाथि पुरुष डबल्समा भिक्ट्री राणा र भिक्टर राणाको जोडीले सपवmलता पाए ।

प्रतियोगिताको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गर्दै प्रतियोगितालाई सिटिजन्स बैंकले निरन्तर प्रायोजन गर्ने प्रतिबद्धता जनाउदै हारमा पनि प्रतिद्वन्द्वीको सम्मान गर्नु खेलकुदको सुन्दर पक्ष भएको धारणा व्यक्त गरे ।

प्रतियोगितामा विभिन्न ११ स्पर्धामा १ सय ५१ खेलाडी सहभागी छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ८२ हजार ५ सय रुपैयाँ रहेको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्