कोशीका मुख्यमन्त्री कार्कीले बैशाखमै विश्वासको मत लिनुपर्ने



काठमाडौँ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सभामा दर्ता गराएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिने र नलिए नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई सन्देश दिने सङ्कल्प प्रस्ताव प्रदेश सभाबाट पारित भएको हो । 

प्रस्ताव पारित हुनुअघि उक्त प्रस्तावमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेक्रममा मुख्यमन्त्री कार्कीले आफूले ‘रिस्क’ लिएकै कारण कोशी प्रदेशमा संवैधानिक सङ्कट टरेको दाबी गरे । संविधानको धाराअनुसार सरकार चल्ने र आफू त्यसभन्दा पर नजाने बताउँदै कार्कीले राजनीतिक स्थिरताको लागि प्रदेशको संरचना बढाउन सर्वसम्मतिको सर्वदलीय सरकार बनाउन पनि आह्वान गरे । 

प्रस्तावमाथिको छलफलपछि मत विभाजनमा प्रस्ताव ५२ मतसहित पारित हुँदा विपक्षमा भने कसैले मत दिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना सांसद तटस्थ रहे ।  ध्वनिमतबाट प्रस्ताव पारित भइसकेपछि भने विपक्षमा रहेका प्रदेश सभा सदस्यहरूले मतदानबाट मत विभाजनको माग गरेका थिए ।

त्यसपछि सभामुख अम्बरबहादुर विष्टले उभ्याएर सङ्ख्या गणना गर्दै बहुमतले प्रस्ताव पारित भएको घोषणा गरे । जसको असन्तुष्टि स्वरूप बैठकमा उपस्थित रहेका सत्तापक्षका २४ सांसद मत विभाजन प्रक्रियामा सहभागी भएनन् । प्रस्ताव पारित भइसकेपछि बोल्दै नेकपा एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले आगामी २५ गतेसम्म मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्