तनहुँमा सात किलोमिटर सडक कालोपत्र



तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ । जिल्लामा सूचीकृत भएका योजनाअन्तर्गत चालु आवको नौ महिनाको अवधिमा उक्त सडक कालोपत्र गरिएको हो । यस वर्ष पिसिसी, आरसिसी र कालोपत्र गरी २६ किमी सडक निर्माण गर्ने लक्ष्य रहेको जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख कृष्ण आचार्यका अनुसार कच्ची सडक १५ किलोमिटर निर्माण गर्ने लक्ष्यअनुरुप हालसम्म चार किमी र २५ हजार घनमिटरको टेवा पर्खालमध्ये एक हजार सात सय घनमिटर पर्खाल निर्माण सम्पन्न भएको छ । ग्राभेल सडक २५ किमी बनाउने  लक्ष्यअनुरुप काम भएको, छ किमी, सडक चौडा भएको छ । 

त्यसैगरी कजवे, कल्र्भट निर्माणतर्फ १० योजना सम्पन्न गर्ने लक्ष्य छ । त्यसैगरी झोलुङ्गे पुल तीन र सहरी भवन चारवटा निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख आचार्यले बताए ।

एघार किमी कालोपत्र  गरिँदै

त्यसैगरी, गण्डकी प्रदेशको गौरव आयोजना मानिएको मानपुर–डेडगाउँ–बुलिङटार सडकखण्डको ११ किलोमिटर  कालोपत्र गर्न सुरु गरिएको छ । अब जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरदेखि डेढगाउँको सिमानासम्म  कालोपत्र हुनेछ । 

“अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ”, उनले भने, “सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिने छ,” कार्यालय प्रमुख आचार्यले भने ।

प्रतिक्रिया दिनुहोस्