दम्पती हत्यामा संलग्न पत्ता लगाउन सकस



पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको आज १७ दिन पुगेको छ । गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भएपनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन  । चैत १९ गते सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीय श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका लागि एक सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत घटनास्थल वरिपरीनै अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा २५ जना प्रहरीको टोली घटनास्थलमै खटिएको छ । 

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोलीलेसमेत अुनसन्धानलाई तीव्रता दिएको भए पनि दोषी पहिचान गर्न सकस भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।  जिल्ला प्रहरी कार्यालय पवर्तका प्रहरी प्रमुख भुसालका अनुसार घटनाबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेको र अब घटनाको तथ्यको नजिक पुग्न थालेको बताए ।

उनले भने, “प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पनि अनुसन्धानमा जुटेको छ ।” उनले भने, “हत्यारा छिट्टै नै पत्ता लगाइनेछ ।”  भुसालका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा लुटपाटका लागि हत्या भएको हुनसक्ने देखिएको छ ।

“घटनाको प्रकृति हेर्दा लुटपाटका लागि हत्या भएको देखिन्छ । हत्यामा एकजनाभन्दा धेरै प्रयोग भएको पनि देखिएको उनले बताए । “त्यसको अनुसन्धान गरिराखेका छौं”, डिएसपी भुसालले भने । अनुसन्धानका क्रममा अहिलेसम्म आफन्तजन, घर वरिपरी र उनीहरूका घरपरिवारसँग जोडिएका सबै गरी दुईसय जनाभन्दा बढीसँग सोधपुछ गरिएको भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्