उपल्लो दुखुमा पोल गाडेको चार वर्षपछि बिजुली बल्यो



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३र११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न २०७४ सालमा काम सुरु गरेको थियो ।

“पोल गाडेको चार वर्षपछि उपल्लो दुखुमा विद्युतीकरणको योजनाले पूूर्णता पाएको छ”, उनले भने, “उपल्लो दुखुका ४१ र खुवाङका आठ घरमा गत असोजमा बिजुली बलेको थियो । पोल गाड्ने र तार तान्ने काम सकिएपछि उपल्लो दुखुका थप ५० घरमा यसै सातादेखि बिजुली बल्न थालेको हो ।”

नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदाका समय विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपूर्ति हुन थालेपछि जनजीवन सहज भएको पुनले बताइन् । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एसियाली विकास बैंकको परियोजनामार्फत संरचना तयार भएपछि विद्युत् वितरण गरिएको जनाएको छ ।

केन्द्रका इन्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा एक सय केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताए । पोल गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि उपल्लो दुखुका सबै घरमा बिजुली बालिएको छ ।

म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार विद्युत्का ग्राहक छन् । गत आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए । मालिका गाउँपालिका–२, ३ र ४ नं वडाका चार सय घरधुरीमा विद्युतीकरणका लागि गत शुक्रबारदेखि ट्रान्सफर्मर चार्ज र मुख्य तथा शाखा लाइनको परीक्षण गर्न थालिएको छ ।

म्याग्दीमा केन्द्रीय लाइनको विद्युत् नपुगेका दुई हजार दुई सय घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले गत असोजमा रु २० करोडभन्दा बढी बजेटको ठेक्का सम्झौता भएको थियो । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार गरिने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्