महिला फुटबलः कर्णाली र सुदूरपश्चिमको खेल पहिलो हाफ खेलेर स्थगित



चितवन । अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कर्णाली प्रदेश र सुदूरपश्चिमबीचको दोस्रो सेमिफाइनल खेल पहिलो हाफ खेलेर स्थगित भएको छ ।

भरतपुरको शारदानगर फुटबल मैदानमा पहिलो हाफ सकिएपछि हावा हुरीका कारण दोस्रो हाफ स्थगित गरिएको हो ।
पहिलो हाफमा भने सुदूरपश्चिमले १–० गोलको अग्रता बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान अञ्जली चन्दले खेलको १७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् ।

दुई टोलीबीचको दोस्रो हाफको खेल भोलि शुक्रबार हुनेछ । कर्णाली र सुदूरपश्चिमबीचको विजेता टोलीले कोशी प्रदेशसंग फाइनल प्रतिस्पर्धा गर्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई २–० गोल अन्तरले हराउँदै कोशी फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्