नेपालका वाम शक्तिबिच एकता हुन्छ : पूर्वप्रधानमन्त्री खनाल



इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा वाम शक्ति एकीकरणको सुरुआत भइसकेको बताएका छन् । केन्द्रीय राजनीतिमा फेरिएको नयाँ सत्ता समीकरणले नेपालमा कम्युनिस्टहरू एकढिक्का हुन सुरु भएको सङ्केत गरेको बताउँदै खनालले २०८४ कोे आम निर्वाचनअघि नै नेपालका वाम शक्तिबीच एकता हुने बताएका हुन् ।

शुक्रबार गृह जिल्ला इलाम आउने क्रममा सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा पत्रकारसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् । “अहिलेको सरकार गठनबाट वाम एकताको यात्रा सुरु भइसकेको छ”, उनले भने, “आम निर्वाचनसम्म पुग्दा सबै कम्युनिस्ट एक भएर जान्छन् ।”

पूर्वप्रधानमन्त्री खनालले वाम एकताको कार्यदिशा आफैँले अगाडि बढाएको बताए । त्यही अनुरूप अहिले सरकार गठन भएको उनको भनाइ छ । “एकता भन्ने कुरा जहिले पनि सम्भव छ । अझ वाम एकता हुन त ढिला भइसक्यो । विचार र सिद्धान्त मिलेपछि कसैले रोक्न सक्दैन”, उनले भने, “तर अब टाउका मिल्ने होइन विचार मिल्नेबिच एकता हुनुपर्छ ।” पार्टी एकतापछि २०८४ सम्ममा चुनावी एकता हुने उनको भनाइ छ । “पार्टीसँगै चुनावी एकताका लागि मेरो अन्तिम कसरत हुनेछ”, नेता खनालले भने ।

खनाल इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्ना दलका उम्मेदवार जीतबहादुर राईलाई सघाउन इलाम आएका हुन् । वैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुने उपचुनावमा एकीकृत समाजवादीको छुट्टै उम्मेदवार रहेको छ । माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष राईलाई पार्टीले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्