वैदेशिक रोजगार कार्यालयले ३ सिफ्टमा सेवा दिने



काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहचलले ३ सिफ्टमा सेवा दिन थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेपछि कार्यालयले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिने सेवा २ वटा सिफ्टबाट ३ वटामा विस्तार गरेको हो । अब सेवाको टोकन जारी भएकै दिनमा श्रम स्वीकृति जारी गर्न सकिने श्रम अधिकारीहरूको दाबी छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेकाअनुसार २ सिफ्टमा कार्यालय चलाउँदा दैनिक आउने सेवाग्राहीको चाप धान्न नसकेपछि ३ सिफ्टमा सेवन थालिएको हो । विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राती ९ बजेदेखि विहान ४ बजेसम्मको ३ सिफ्ट कायम गरेर सेवा थालिएको हो ।

श्रम स्वीकृतिको प्रक्रियालाई छिटो बनाउन अरु पनि विभिन्न सुधारका काम गरिएको उनले बताए । ‘मन्त्रीज्यूकै निर्णय र निर्देशनअनुसार पुनः श्रम स्वीकृतिलाई एक तहबाटै सकाउने गरी विधि तय भएको छ,’ उनले भने,‘सबै कागजात पुगेर आउँदा एकै कर्मचारीले त्यसलाई हेरेर पुनः श्रम स्वीकृति जारी गर्न सक्ने गरी विधि बनाएका छौं ।’ यसले गर्दा कर्मचारीहरुको कार्यचाप घट्ने र त्यसबाट व्यवस्थापन सजिलो बन्ने घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्