कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउँछ : शंकर पोखरेल



सुर्खेत । नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बताएका छन् ।

एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले पाउने बताएका हुन् ।

कर्णालीमा माओवादी बलियो भएकै आधारमा उसले मात्र सरकारको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता ठीक नभएको पनि उनले बताए ।

‘हामी सहकार्यलाई एउटा स्पिडमा अगाडि बढाउन चाहन्छौं भने त्यो उदारता कर्णालीका माओवादी साथीहरूमा हुनुपर्छ,’ महासचिव पोखरेलले भने, ‘अगाडि बढेर उहाँहरूले नै भन्नुपर्छ– हामीले धेरै पटक नेतृत्व गर्‍यौं कमरेड, अब एक पटक तपाईंहरूको नेतृत्वमा कर्णालीको विकास कसरी हुँदो रहेछ हेर्न चाहन्छौं ।’

एमालेले मधेश र कर्णालीबाहेक बाँकी ५ प्रदेशमा सरकारको नेतृत्व गरिसकेको र कर्णालीमा परीक्षण हुन बाँकी रहेको महासचिव पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्